काठमाडौँ, १६ मङ्सिरः स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिनुभयो ।
हालसम्मको प्राप्त विवरण अनुसार करिब ६२ प्रतिशत मतदान भएको आयोगले जनाएको हो।मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्। एउटा मात्रै मतदान स्थल रहेका १५ वटा वडाको वडा अध्यक्ष पदको मतगणना सम्बन्धित मतदान स्थलमा नै हुने व्यवस्था मिलाइएको छ भने अन्य स्थानमा सबै मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी मतगणना हुनेछ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज मतदान भएको थियो । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्रगरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धी हुनुहुन्छ ।
—
