काठमाडौ, १२२ कात्तिक । काठमाडौंबाट आज अपराह्न भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि सो विमानको जाँच भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
‘आज अपराह्न ३.१२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको उक्त जहाज अवतरण भइसकेपछि उड्ने क्रममा एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको प्राधिकरणले जनाएको छ ।
त्यतिबेला १६९ मध्ये ४० जना यात्रु चढिसकेका थिए ।
अहिले ४० जना यात्रुलाई उतारेर नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले जाँच गरिरहेका छन्। उक्त जहाज अपराह्न ३.५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो।
यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा पनि बम राखिएको सूचना आएको थियो। तर उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो।
