काठमाडौँ, ११ असोजः देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ ।
देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा जनाइएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
मौसम बुलेटिन अनुसार आगामी २४ घण्टामा देशका तराई भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने बाढी, पहिरो र डुबानको जोखिमका साथै ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन ती भेगका सर्वसाधारणमा विभागले अनुरोध गरेको छ ।
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम रु
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।
आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो ।
असोज ११ गते नारायणी नदीमा उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहने विभागको अनुमान छ । यस्तै कन्काई नदी ११ गते उच्च जोखिम हुने र अरु समयमा मध्यम जोखिम हुने जनाइएको छ । कमला नदी असोज ११ गते उच्च र १२ गते मध्यम तथा बागमती नदी पँधेरा दोभानमा ११ गते उच्च जोखिम र १२ गते अति उच्च जोखिम रहेको महाशाखाले जानकारी गराएको छ ।
यस्तै पूर्वी राप्ती रजैयामा असोज ११ गते मध्यम जोखिम रहेको छभने असोज १२ गते उच्च जोखिम रहेको विवरण सार्वजनिक गरेको छ । यस्तै पश्चिम राप्ती कुसुममा असोज ११ गते मध्यम जोखिम रहेको तर असोज १२ गते भने अति उच्च जोखिम रहेको तथा बबई नदी असोज ११ गते मध्यम जोखिम छभने असोज १२ गते अति उच्च जोखिम रहेको जनाइएको छ ।
यी उच्च र मध्यम जोखिम रहेका नदी तथा त्यसका सहायक नदीहरूमा जलसतह खतराको तह आसपास र केही क्षेत्रमा खतराको तहसमेत पार गर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन ती नदी तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध पनि गरिएको छ । असोज १४ गतेदेखि भने यस प्रणाली कमजोर हुने जनाइएको छ ।
विपद् प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले विपद् पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयानुसार उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको पनि जानकारी दिनुभयो ।
