काठमाडौँ, २८ असारः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि सो आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्न नसकेको सभामुखको पत्र प्राप्त हुन आएको उल्लेख गर्दै राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि सो आह्वान भएको राष्ट्रपतिको कार्यालय ले जनाएको छ ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग परामर्श गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा उहाँले संविधान तथा कानुनविद्हरूसँग परामर्श गर्नुभएको हो ।
सो छलफलमा कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सीताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
ती मध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ७६ (३) अनुसार प्रक्रिया अघि बढाउन उचित हुने सुझाव दिएका बताइएको छ । 
