काठमाडौं, १५ बैशाख । पछिल्लो २४ घण्टामा देशभर ४८९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७७३ जना संक्रमणमुक्त भएका छन् । हिजो ४५ सय २४ जनालाई संक्रमण पुष्टि भएको थियो ।
चौबीस घण्टामा १३ हजार ८७९ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ४७७४ मा कोरोना भाइरस सङ्क्रमण(कोभिड१९) पुष्टि भएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरिएकोमा १२३ जनामा पोजिटिभ पाइएको छ ।
यससँगै कुल सङ्क्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित विसेक भएका छन् ।
पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्र २ हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार अहिले ५४ जना क्वारेन्टिनमा र ३० हजार २०९ जना आइसोलेशनमा छन् ।
