काठमाडौँ, १५ वैशाख ।सुर्खेत; दैलेख; नेपालगन्ज र बीरगन्जमा गरी ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ  ।

कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।

भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए । त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ । तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

भेरी अस्पतालमा थप दुई सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र –१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

वीरगञ्जमा दुई सङ्क्रमितको मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई कोरोना सङ्क्रमितको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । कडा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेका सर्लाहीको दङ्गाहा–४ निवासी ४३ वर्षीय पुरुष र बाराको शवर्ण नगरपालिका–७ निवासी ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया र उच्च ज्वरो रहेका पुरुषको १ः४५ र महिलाको १२ः१५ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो । उहाँले वैशाख १४ गते अस्पताल भर्ना भएका पुरुषको सोही दिन पिसिआर विधिबाट परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको थियो भने १३ गते अस्पताल भर्ना भएकी महिलाको सोही एन्टिजेन परीक्षण गर्दा सङ्क्रमित भएको पत्ता लागेको बताउनुभयो । बितेको तीन दिनभित्र नारायणी तथा नारायणी बयोधा अस्पतालमा उपचारत ११ जना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर