काठमाडौँ, १८ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र स्थापना भएको बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनीको उद्घाटन गर्दै उहाँले गणतन्त्र स्थापनामा गिरिजाबाबुको योगदान सधै चिरस्मरणीय रहने बताउनुभयो ।
सभापति देउवाले गिरिजाबाबुका कारण देशमा प्रजातन्त्र पुनःस्थापनाका साथै गणतन्त्र प्राप्त उल्लेख गर्नुभयो । “गिरिजाबाबु २००७ को क्रान्तिदेखि देशको राजनीतिमा क्रियाशील, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । विद्यार्थी कालमा गिरिजाबाबुकै कारण आफू नेपाल विद्यार्थी सङ्घको सभापति भएको उहाँले बताउनुभयो ।
गणतन्त्रलाई स्थायी रूपमा अगाडि बढाउने प्रमुख जिम्मेवारी कांग्रेसको भएको उहाँले बताउनुभयोे । प्रजातन्त्रबाट लडेर देशमा गणतन्त्र ल्याउन सफल भएको व्यक्तिका रुमपा गिरिजाबाबु भएको सभापति देउवाले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत विभिन्न राजनीतिक दलका नेताले अभिरुचिपूर्वक प्रदर्शनी अवलोकन गर्नुभएको थियो ।
स्व गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा तस्बिर प्रदर्शनी
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा तस्बिर प्रदर्शनी सुरु भएको छ ।
कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित प्रदर्शनीमा कोइरालाको जीवनका महत्वपूर्ण तस्बिर राखिएका छन् । उहाँको सक्रिय राजनीतिक जीवनकालमा विभिन्न फोटो पत्रकारले खिचेका तस्बिर प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभयो ।
प्रदर्शनीमा एक सय ५१ भन्दा बढी तस्बिर राखिएका छन् । केन्द्रीय कार्यालयको सभाहलमा जारी प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँगका तस्बिरहरु छन् । प्रदर्शित तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछि शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिविम्बित गरेका छन् । शान्ति तथा विकास निर्माणको चरण, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । तस्बिर प्रदर्शनीको साथमा विमर्शसभा र वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो ।
विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गर्नुभएका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री हुनुभएको थियो । विसं २००४ मा विराटनगरमा भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिनुभएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा रहनुभएको थियो । विसं १९८१ असार १८ गते जन्मिनुभएका उहाँको २०६६ साल चैत ७ गते निधन भएको थियो ।
उहाँले क्रान्तिदेखि शान्ति प्रक्रियामा पु-याउनुभएको योगदान वर्तमान र भावी पुस्तालाई जानकारी गराउने उद्देश्यले तस्बिर प्रदर्शनी गरिएको विभागले जनाएको छ । प्रदर्शनी आज साँझसम्म रहने कांग्रेसले जनाएको छ ।
