काठमाडौँ, ८ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताउनुभयो । “कांग्रेस आफ्नो अडानमा कायम छ । बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ”, उहाँले भन्नुभयो ।
सांसद पाण्डेले सहकारी ठगीसम्बन्धमा सञ्चारमाध्यममा थप नयाँ विषय सार्वजनिक भइरहेका उल्लेख गर्दै गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला वर्तमान गृहमन्त्री रवि लामिछानेलगायत अन्य व्यक्तिले विभिन्न सहकारीबाट ठूलो रकम ऋण लिएका र विभिन्न तहबाट त्यसबारेमा छानबिन भइरहेको बताउनुभयो । कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ र लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस भएको छ ।
प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ ।
संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेससँग आग्रह गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ ।”
अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो भन्नुभयो । अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गर्नुभयो ।
