महाशाखाले केही दिनदेखि देशका अधिकांश भू–भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको र यो क्रम वैशाख १४ गतेसम्म रहनसक्ने प्रक्षेपण गरेको हो।
‘लुम्बिनी तथा मधेश प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा विगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू–भागको थोरै स्थानहरूमा पछिल्लो एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ,’ महाशाखाले बुलेटिनमार्फत् भनेको छ।
महाशाखाले अद्यावधिक गरेको विवरणअनुसार भैरहवाको तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेको छ। यो साँझ ६ बजेको अद्यावधिक तथ्यांक हो।
यस्तै सिमराको ४०.०, जनकपुरको ३९.४, धनगढीको ३८.८ नेपालगञ्जको ३८.४ डिग्री सेल्सियस तापक्रम पुगेको छ। काठमाडौंको तापक्रम ३३.१ रहेको छ।
तापक्रम बढ्दै जाँदा तातो हावा तथा तातो लहर चल्न सक्ने महाशाखाको आकलन छ। जसबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने आदि समस्या निम्तने भएकाले सावधानी अपनाउन भनेको छ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन आग्रह गरेको छ।
यस्तै सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहन पनि भनेको छ।
