वीरगञ्ज (पर्सा), ९ वैशाख । सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ ।
भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजेको समयमा सल्किएको आगोले यहाँका १५ किसानको गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घरलगायत सम्पत्तिमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।
छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताउनुभयो ।
नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको प्रहरीले जनाएको छ ।
प्रहरी टोली, स्थानीय तथा वीरगञ्ज महानगरपालिकाको दमकल, पोखरीया नगरपालिकाको दमकल, विपद् व्यवस्थापन गुुल्म पर्साको दमकलको सहयोगमा आगो निभाईएको प्रहरीले जनाएको छ ।
