चैनपुर (बझाङ), २४ चैतः आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री हुनुहुन्छ ।

त्यस्तै राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा, सङ्घीय राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक पार्टीबाट कमल घर्तीमगरको पनि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनमत पार्टीबाट सुशीला विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

आज उम्मेदवारी दर्ता गरेका उम्मेदवार विरुद्ध भोली बिहान १० बजेदेखि ३ बजेसम्म विरुद्ध उजुरी दिने, दिउँसो ३ देखि ५ बजेसम्म मनोनयन पत्र र उजुरी जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको छ । चैत २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, चैत २७ गते उम्मेदवारले नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने कार्यसूची रहेको छ भने वैशाख १५ गते मतदान गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर