(मस्को स्टेट युनिभर्सिटीका ती विद्यार्थीले वाईफाई नेटवर्कको नाम स्लाभा युक्रेनी राखेका थिए)
रुस, २७ फागुन । मस्कोका एक विद्यार्थीलाई आफ्नो वाईफाई नेटवर्कको नाम बदलेर किएभको समर्थन हुने खालको नारा राखेको आरोपमा १० दिनको जेल सजाय सुनाइएको छ।
मस्को स्टेट युनिभर्सिटीका ती विद्यार्थीले वाईफाई नेटवर्कको नाम स्लाभा युक्रेनी राखेका थिए।
त्यसको अर्थ नेपाली भाषामा जय युक्रेन वा युक्रेनको जय होस् भने जस्तो हुन्छ।
मस्कोको एउटा अदालतले बिहीवार उनलाई चरमपन्थी सङ्गठनहरूको प्रतीक प्रदर्शन गरेको भन्दै दोषी ठहर गरेको हो।
रुसले युक्रेनमा हमला सुरु गरेयता मस्कोले हजारौँलाई उक्त हमलाको आलोचना गरेको वा युक्रेनलाई समर्थन गरेको आरोपमा जेल सजाय सुनाएको छ।
त्यस्तो आरोपमा मस्कोले कैयौँलाई जरिवाना तिराउने पनि गरेको छ।
एकजना प्रहरीले उक्त वाईफाई नेटवर्कको नामबारे अधिकारीहरूलाई बताएपछि ती विद्यार्थीलाई बुधवार बिहान मस्कोमा पक्राउ गरिएको हो।
अदालतमा पेस भएका कागजातहरूका अनुसार अधिकारीहरूले उक्त विश्वविद्यालयभित्र विद्यार्थीहरूले प्रयोग गर्ने आवासमा रहेको उनको कोठाको निरीक्षण गरेका थिए।
त्यहाँ उनीहरूले कम्प्युटर र वाईफाई राउटर फेला पारेका छन्।
अदालतले ती विद्यार्थीले आफ्नो नेटवर्कमा आबद्ध भएका असीमित सङ्ख्याका प्रयोगकर्ताबीच ूस्लाभा युक्रेनीु नारालाई प्रवर्द्धन गर्न त्यसको प्रयोग गरेको बताएको छ। उनको राउटर अहिले जफत गरिएको छ।
स्लाभा युक्रेनी युक्रेन समर्थकका निम्ति एउटा नारा बनेको छ। रुसले सन् २०२२ को २४ फेब्रुअरीमा सुरु गरेको पूर्णस्तरको आक्रमणविरुद्ध गरिने विरोध प्रदर्शनहरूमा प्रायः उक्त नारा लाग्छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नव नाजी शासन रहेको भन्ने आधारहीन दाबीलाई बारम्बार दोहोर्याउने गरेका छन्
अदालतले ती विद्यार्थीलाई नाजी प्रतीकको सार्वजनिक प्रदर्शन गरेको वा चरमपन्थी सङ्गठनहरूको प्रतीक प्रदर्शन गरेकोमा दोषी ठहर्याएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नव नाजी शासन रहेको भन्ने आधारहीन दाबीलाई बारम्बार दोहोर्याउने गरेका छन्।
सोही आरोप लगाएर आफ्नो आक्रमणको औचित्य पुष्टि गर्ने उनको प्रयास हुने गरेको छ।
युद्धबारे आफ्ना सामान्य प्रतिक्रिया र टिप्पणीका निम्ति दण्डित गरिएका रुसीहरूको लामो सूचीमा ती विद्यार्थीसम्बन्धी घटना सबैभन्दा पछिल्लो हो।
गत महिना शङ्कास्पद परिस्थितिमा मृत्यु भएका विपक्षी नेता एलेक्सी नाभाल्नीको स्मरणमा फूल चढाउने सयौँ मानिसहरूलाई समेत रुसी प्रशासनले हिरासतमा लिएको थियो।
रुस युक्रेन द्वन्द्वलाई रुसमा युद्ध भन्न पाइँदैन र त्यसलाई विशेष सैन्य कारबाही भन्नुपर्छ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याशनलका अनुसार गत वर्ष २१,००० भन्दा बढी मानिसहरूलाई रुसी दमनकारी कानुन अन्तर्गत कारबाही गरिएको थियो। बीबीसी
