काठमाण्डौं, ६ बैशाख । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नविकरण गर्न र नयाँ बन्नको लागि यही बैशाख १५ गतेसम्मको म्याद तोकेको छ ।
आज बसेको काँग्रेस कार्य समितिको बैठकले गरेको निर्णय अनुसार, क्रियाशील सदस्यता नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नु पर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राती १२ :०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द गरिने छ ।
त्यसैगरी क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५:०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।
यसरी सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्नेछ ।
बैठकले सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समय अघि मात्रै प्रकृया शुरु भएको हुनाले ती जिल्लाका हकमा २०७८ वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा “इन्ट्री” गरी सक्नु पर्ने निर्णय गरेको छ ।
