कर्णाली प्रदेश सरकार कांग्रेसका तीन मन्त्रीले दिए राजीनामा
कर्णाली, २२ फागुनः कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष संयुक्तरुपमा राजीनामा बुझाउनुभएको हो ।
राजनीमा बुझाउनुअघि उहाँहरुले पत्रकार सम्मेलन गर्नुभएको थियो । सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री सिंहले मुलुको बदलिँदो राजनीति परिवेश र प्रदेश सरकार पुनःगठनमा सहज पुगोस् भन्ने उद्देश्यले राजीनामा दिइएको बताउनुभयो । “काम गर्ने चाहना थियो तर नयाँ परिस्थितिका कारण बाहिरिनु परेको छ”, उहाँले भन्नुभयो ।
सो अवसरमा उहाँहरुले आफ्नो कार्यकालको उपलब्धि पनि सार्वजनिक गर्नुभयो । उहाँहरुले प्रदेश सरकारमा मन्त्रीका रुपमा १० महिना १५ दिन काम गर्नुभयो ।
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त
गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट सरकारमा सहभागी बन्नुभएका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो ।
मन्त्रीद्वयले सम्हाल्दै आउनुभएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राख्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफरिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को गठन गरी कार्यविभाजन गर्नुभएको उल्लेख गरेको छ ।
सूचना अधिकारी प्रमिला गौतमले जारी गर्नुभएको विज्ञप्तिमा कार्यविभाजनअनुसार मुख्यमन्त्री पाण्डेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा याताय व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
सरस्वती अर्याल ९तिवारी०लाई ऊर्जा, जलस्रोत, तथा खानेपानी मन्त्रालय, महेन्द्रध्वज जिसीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय, जितप्रकाश आले मगरलाई आर्थिक मामिला मन्त्रालय र दीपेन्द्रबहादुर थापालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको हो । केन्द्रमा यसअघि नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता समीकरण फेरिएर सोमबार माओवादी केन्द्र, नेकपा ९एमाले० सहितको नयाँ गठबन्धन भई सानो आकारको मन्त्रिमण्डल गठन भइसकेको छ ।
