पाटन, ६ फागुन : भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।

आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

“वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने छ,” विभाग प्रमुख विश्वकर्माले भन्नुभयो ।

पार्टी सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन भोलि अपराह्न १ बजे गर्नुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै कांग्रेसले जनताको अवस्था परिवर्तनका लागि विश्वासिलो र भरपर्दो गरी काम गर्छ भन्ने विश्वास भएको जानकारी दिनुभयो ।

महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन् । ‘ती प्रतिवेदनहरू समूहगत रूपमा छलफल हुनेछ तराई, मधेस, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समूह विभाजन गरिनेछ । चार वटा हलमा छुटा छुटै रूपमा प्रतिवेदनहरू माथि छलफल हुनेछ ,’  ।

प्रतिक्रिया

सम्बन्धित खवर