काठमाडौँ, १८ माघ : सरोकारवाला विज्ञहरूले भूकम्पजस्ता विपद् जुनसुकै बेला पनि जानसक्ने भएकाले त्यसबाट बच्न आवश्यक पूर्वतयारी नै उत्तम विकल्प भएकामा जोड दिनुभएको छ ।
‘भूकम्प प्रविधिका लागि राष्ट्रिय समाज नेपाल’ले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक अन्तक्र्रियामा उहाँहरूले विपद्बाट जोगिन त्यसको तयारीमा सधँै रहिरहनुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले प्राधिकरणले विपद्पछिको पुनःस्थापनालगायत विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरेका कामका बारेमा जानकारी गराउनुभयो ।
साथै उहाँले आमनागरिकमा स्थानीय प्रविधि र सामग्रीबाट बनाइका घर पनि भूकम्प प्रतिरोधक हुनेबारेमा सचेतना जगाउनु आवश्यक रहेको बताउँदै गाउँघरतिर सिमेन्टबाट बनाइएका घरमात्र बलिया हुन्छन् भन्ने आमधारणा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।
चन्द्रगिरि नगरपालिकका नगरप्रमुख घनश्याम गिरीले विपद्मा बच्न के गर्ने र कसरी गर्ने भन्ने सन्दर्भमा नयाँ तथा व्यवहारिक शिक्षा आमनागरिकमा पुर्याउनुपर्ने बताउनुभयो । साथै उहाँले विपद्पछिको बस्ती पुनःस्थापनामा नागरिकको चित्त बुझाएर नयाँ ढङ्गले गुरुयोजना बनाई अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक मोनिका झा, प्राधिकरणका सहसचिव भरतमणि पाण्डेय, समाजका अध्यक्ष डा अमोदमणि दीक्षितलगायतले भूकम्पजस्ता विपद्को भविष्यवाणी गर्न नसकिने भएकाले यसको जोखिमबाट बच्न पूर्वतयारी नै उत्तम विकल्प रहेकामा जोड दिनुभयो ।
