काठमाडौँ, १५ माघ : राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घन गर्ने एक सय दुईजनालाई कारबाही र क्षतिपूर्तिका लागि सिफारिस गरिएको जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कामबारे जानकारी दिँदै आयोगले नीतिगत सुधारका लागि १३ वटा सिफारिस गरेको समेत उल्लेख गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार कानुनी कारबाही र विभागीय कारबाहीका लागि ७६ जनालाई सिफारिस गरिएको छ भने ६६ जना दोषीको नाम किटान गरिएको छ । साथै क्षतिपूर्तिका लागि ५९ जनाको नाम सिफारिस गरिएको छ ।
सो अवधिमा आयोगमा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा एक सय उजुरी दर्ता भएका छन् । यस अवधि र अघिल्ला वर्षमा दर्ता भएकासहित तीन सय ५४ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगले दर्ता हुन आएका उजरीमध्ये प्रमुख महासन्धिका आधारमा सबैभन्दा बढी नागरिक तथा राजनीतिक अधिकारसँग सम्बन्धित ४७ वटा छन् भने सबैभन्दा कम जबर्जस्ती व्यक्ति बेपत्ता पार्नेविरुद्धको महासन्धिअन्तर्गत एक उजुरी दर्ता भएका छन् ।
आयोग स्थापनादेखि हालसम्म मानव अधिकार उल्लङ्घन दुरुत्साहनमा दोषी पहिचान भएका व्यक्तिहरूको सङ्ख्या तीन सय ५८ जना पुुगेको छ । आयोगले स्थापनादेखि मानव अधिकार उल्लङ्घनका पीडितलाई क्षतिपूर्ति÷राहत उपलब्ध गराउन रु २८ करोड १३ लाख एक हजार एक सय ९७ सिफारिस गरी पठाएकामा करिब रु सात करोड बराबरको रकम निकासा भएको आयोगले जनाएको छ ।
मानवअधिकार उल्लंघनमा कारवाहीका लागि सिफारिस नाम
नेपाल प्रहरीतर्फ ३२ जनाले मानवअधिकार उल्लङ्घन गरेको भन्दै आयोगले उनीहरुको नाम सार्वजनिक गरेको छ ।
प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य, उमाप्रसाद चर्तुवेदी रहेका छन् । प्रनावउपरीक्षक तर्फ कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, प्रनाउ टेकुनन्द इवा लिम्ब, हनुमान शाह रहेका छन् भने प्रहरी निरीक्षकतर्फ गोविन्दप्रसाद साह महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरी रहेका छन् । प्रहरी सहायक निरीक्षकतर्फ नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महावीर राज धावे र बासुदेव चौधरी रहेका छन् ।
यस्तै प्रहरी नायव निरीक्षकतर्फ रामकुमार यादव, श्याम राउत, धर्मेन्द्र कुमार सिंह, चक्र बस्नेत रहेका छन् । प्रहरी हवल्दारतर्फ भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी र दलबहादुर कार्की रहेका छन् । प्रहरी जवानतर्फ विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौला रहेका छन् ।
सशस्त्र प्रहरीतर्फ एकजना प्रहरी उपरीक्षक प्रकाश ओझा मानवअधिकार उल्लंघनमा कारबाहीको सिफारिसमा परेका छन् ।
नेपाली सेनाका सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति, सेनानी सुरत रावल (युद्धकार्य अधिकृत),सहसेनानी चव्रmबहादुर कार्की र क्याप्टेन दिनेश थापा पनि कारवाहीका लागि सिफारिस भएका छन् ।
राष्ट्रिय अनुसन्धानतर्फ एक निरीक्षक लिलाधर पौडेल कारवाहीका लागि सिफारिस भएका छन् ।
निजामती कर्मचारी १२ जना
निजामती कर्मचारीहरूहरु प्रजिअहरु माधवप्रसाद ओझा, शालीग्रााम शर्मा पौड्याल, दीपककुमार पहाडी,सरोजप्रसाद गुरागाई, रमा आचार्य,शिवप्रसाद नेपाल पनि कारवाहीका लागि सिफारिस भएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारी र कारागार विभागका विभागीय प्रमुख द्रोण पोखरेल पनि मानवअधिकार उल्लंघनमा आयोगको कारबाही सिफारिसमा परेका छन् । त्यस्तै बाँके कारागार प्रमुख देवेन्द्रप्रसाद श्रेष्ठ, रोल्पा कारागार प्रमुख कमला घिमिरे, निमित्त कारागार प्रमुख यामलाल ओली र नासु दिपेन्द्रप्रसाद पौडेल पनि सिफारिसमा परेका छन् ।
तत्कालीन माओवादीहरु
तत्कालीन नेकपा (माओवादी) हरूमा खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, राम विलास यादव, हृदय यादव, प्रभु साह, एस.पी. किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना रहेका छन् । आयोगले सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारबाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरेको जनाएको छ ।
