कास्की, ११ माघ : राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० अन्तर्गत गण्डकी प्रदेशमा आज भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरु तीनै सिटमा विजयी भएका छन् ।
सत्ता गठबन्धनबाट अन्य समूहमा नेपाली काँग्रेसका किरणबाबु श्रेष्ठ, महिलातर्फ नेकपा(माओवादी केन्द्र)की मनरुपा शर्मा र अपाङ्गता/अल्पसंख्यक समूहबाट नेपाली काँग्रेसका पदमबहादुर परियार विजयी हुनुभएको हो ।
अन्य समूहमा निर्वाचित श्रेष्ठले कूल तीन हजार आठ सय आठ मतभार प्राप्त गर्दा नेकपा(एमाले)का उम्मेदवार चक्रबहादुर पराजुलीले दुई हजार चार सय ७७ मतभार पाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रोमबहादुर भण्डारीले एक सय छ मतभार पाउनुभयो ।
महिलातर्फ माओवादीका शर्माले तीन हजार छ सय ६० मतभार प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रत्याशी नेकपा(एमाले)का सम्झना देवकोटाले दुई हजार पाँच सय ५३ मतभार पाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौमाया श्रेष्ठले एक सय छ मतभार पाउनुभयो ।
अपाङ्गतातर्फ विजयी नेपाली काँग्रेसका परियारले कूल तीन हजार सात सय ७४ मतभार प्राप्त गर्नुभयो । परियारका प्रतिस्पर्धी नेकपा(एमाले)का हेमन्द्र शेरचनले कूल दुई हजार चार सय ५८ मतभार पाउनुभयो । अपाङ्गतातर्फ प्रदेशसभाको तीन मत बदर भएको छ ।
निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको थियो । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार थियो ।
पोखरा महानगरपालिका-७ रत्नचोकस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा विहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो ।
मतदानमा प्रदेशसभाका ६० र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी एक सय ६९ गरी दुई सय २९ जनाले मतदान गर्नुभएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्रियसभाका अध्यक्ष समेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले निर्वाचन भएको हो ।
तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता÷अल्पसंख्यक समूहबाट निर्वाचित हुनुभएको थियो । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा(एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
कर्णालीमा सत्तागठबन्धन विजयी
कर्णाली प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन विजयी भएको छ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका तीनै जना उम्मेदवार विजयी भएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनबाट अन्य क्लस्टरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रूकुम पश्चिम), महिलातर्फ उम्मेदवार बनेकी नेकपा (एकीकृत समाजवादी) का सावित्री मल्ल (दैलेख) र दलिततर्फ उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विश्वकर्मा (कालीकोट) विजयी भएका हुन्।
सहायक निर्वाचन अधिकृत उज्वल रावलका अनुसार रोकायाले ३ हजार ८७०, मल्लले ३ हजार ७२२ र विश्वकर्माले ३ हजार ८१७ मतभार ल्याएका छन्।
यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका प्रतिद्वन्द्वीहरू अन्य क्लस्टरतर्फका डिल्लीप्रसाद भट्ट (मुगु) ले १ हजार २१४, महिलातर्फ विमला शाही (हुम्ला) ले १ हजार ३६२ र दलिततर्फ हिक्मतबहादुर विक (दैलेख) ले १ हजार २६७ मतभार ल्याएका छन्।
—
