मकवानपुर, ११ माघ : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणनामा महिला समूहबाट सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी हुनुभयो । उहाँले छ हजार छ सय २२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)की उम्मेदवार रोचकुमारी चौलागाईंले दुई हजार पाँच सय ५२ मतभार प्राप्त गर्नुभयो ।

यसैगरी, दलिततर्फ नेकपा (एकीकृत समाजवादी)का धनश्याम रिजाल विश्वकर्मा विजयी हुनुभयो । उहाँले छ हजार पाँच सय १२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)का ध्रुवराज विश्वकर्माले तीन हजार ५३ मतभारत प्राप्त गर्नुभयो ।

यसैगरी, अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले छ हजार पाँच सय ३१ मतभारत प्राप्त गरी विजयी हुँदा गर्दा नेकपा (एमाले)का त्रिलोचन निर्मल पौडेलले दुई हजार तीन सय ५९ मतभार प्राप्त गर्नुभयो । साथै अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र)का श्रीकृष्ण अधिकारीले छ हजार चार सय ३६ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का विवेक देवकोटाले दुई हजार सात सय ३४ मतभार प्राप्त गर्नुभयो ।

मतदान प्रक्रियामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी तीन सय ४२ जनाले सहभागिता जनाउनुभयो । तीन सय ४७ जना मतदाता रहेको बागमतीमा प्रदेशसभाका दुई र स्थानीय तहका तीनजना गरी पाँचजना प्रतिनिधिले भने सहभागिता जनाउनुभएन ।

लुम्बिनीमा सत्ता गठबन्धनका सुवेदी र सापकोटा विजयी

घोराही (दाङ), ११ माघ : राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको छ । सुवेदी अन्यतर्फ र सापकोटा महिला कोटामा विजयी हुनुभएको हो ।

आज भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसीलाई हराउँदै गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएका सुवेदी र सापकोटा विजयी हुनुभएको हो । निर्वाचनमा सुवेदीले पाँच हजार चार सय ३५ र सापकोटाले पाँच हजार चार सय ३५ मतभार प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवार केसीले दुई हजार आठ सय ६७ मतभार र घर्ती क्षेत्रीले तीन हजार ३९ मतभार प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, महिला कोटामा राप्रपाबाट उम्मेदवार बन्नुभएकी विजयालक्ष्मी सिंह दुई सय ५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले दुई सय ५० मतभार प्राप्त गर्नुभएको थियो । आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको तीन सय पाँच मतमध्ये तीन सय तीन मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर