काठमाण्डौं. २५ पुस । विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको छ।
आज बुधबार विशेष अदालतमा बसेको न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसाल सुनाएको हो । शाहका साथै पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई पनि सोही मुद्दामा ३ वर्षकै कैद सजाय सुनाइएको छ।
उनीहरू दुबै जनालाई पुस ११ गते विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको थियो । आज सजाय तोकिएको हो ।
अदालतले उनीहरूबाट बिगो रकम १६ लाख ६९ हजार ०४२ रुपैयाँ जरिवाना र बिगो असुल गर्नसमेत आदेश दिएको छ।
मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शाह र पनेरुसहित चार जनामाथि २०७६ फागुन २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अन्य दुइ जना प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेलाई भने विशेष अदालतले सफाई दिएको छ ।
