काठमाण्डौं, २५ पुस । जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरिएका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतले आज बुधबार यो सजाय तोकेको हो ।
यसअघि पुस १३ गते काठमाण्डौ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको थियो ।
आज जिल्ला अदालत काठमाण्डौंमा सजाय तोक्ने सम्बन्धमा सुनुवाई भएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा भएको आजको सुनुवाईमा सरकारी वकिलले लामिछानेलाई बढीभन्दा बढी सजाय दिन माग गरेका थिए।
मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्ष वा भन्दा बढी उमेरकी महिलालाई जबर्जस्तीकरणी भए ७ देखि १० वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ।
अदालतले लामिछानेलाई ५ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ।
सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतले ठहर गरेको छ ।
संबन्धित युवती र सन्दीप लामिछाने काठमाण्डौंबाट नगरकोट घुम्न गएका र पछि सोही रात काठमाण्डौं फर्केर पशुपति गौशालाको एक होटलमा रात बिताएका थिए । सोही अवस्थामा सन्दीपले बलात्कार गरेको ठहर अदालतको ठहर छ ।
जिल्ला अदालत काठमाडौंको यो फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने उनका वकीलले बताएका छन् ।
