काठमाण्डौँ, १९ पुस । भारतीय विदेश मन्त्री डा एस जयशंकरले आज बिहीबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नुभएको छ । जयशंकर राष्ट्रपतिलाई भेट्न आफ्नो टिमसहित शितल निवास जानुभएको थियो ।
यस अघि आजै बिहान नेपाल आउनु भएका जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपीपी साउदले स्वागत गर्नुभएको थियो ।
उहाँ दुई दिन नेपालमा हुनुहुन्छ । जयशंकर दुई देशको मन्त्रीस्तरीय बैठकमा भाग लिन काठमाण्डौ आउनु भएको हो । यसबीच उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल अनि राजनीतिक दलका केही नेताहरूसित पनि भेटवार्ता गर्नु हुनेछ ।
विदेशमन्त्री जयशंकरले आजै मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्ने र त्यसपछि होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउदसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
अनि त्यहीं दुवै देशका मन्त्रीस्तरीय बैठक बस्ने र तत्पश्चात् विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
सरकारी कार्यक्रम सकिएपछि भारतीय विदेशमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटी राजनीतिक कुराकानी गर्नुहुनेछ ।
सरकारले आजै साँझ विदेश मन्त्री जयशंकरको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको कार्यक्रम राखेको छ ।
विदेशमन्त्री जयशकरका औपचारिक कार्यक्रमहरू सबै आजै सकिने छन् । उहाँ भोलि बिहान पशुपतिनाथको दर्शन गरेर मध्यान्ह १२ बजे स्वदेश फर्कने कार्यतालिका छ ।
