काठमाण्डौं, १६ पुस । फुलह्यामसँग हारेपछि आर्सनलले शीर्ष पहिलो स्थानमा उक्लिने मौका फेरि गुमाएको छ । इंग्लिस प्रिमियर लिगको हिजो आइतबार राति भएको खेलमा फुलह्यामले पाहुना टोली आर्सनललाई २-१ गोलले हराएको हो ।
फुलह्यामको घरेलु मैदान कार्भेन कटेजमा भएको त्यो खेलमा आर्सनलका बुकायो शाकाले पाचौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर त्यसपछि उनीहरूले कुनै गोल गर्न सकेनन् ।
फुलह्यमका खेलाडीले २९ औं र ५९ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई जिताए । फुलह्यामकोलागि रेइड र रउल जिमिनेजले गोल गरेका थिए।
सुरुमा राम्रो लयमा रहेको आर्सनलले पछिल्ला खेलमाहरुमा त्यो लय समात्न सकेको छैन । १९ र २० औंं खेल लगातार हारेको आर्सनल ४० अंकका साथ अझै पनि शीर्ष चौथो स्थानमा छ । लिगमा अझै १८ खेल खेल्न बाँकी छन् ।
अहिलेसम्म इंग्लिस प्रिमियर लिगको शीर्ष पहिलो स्थानमा लिभरपुल रहेको छ । उन्नाइस खेल खेलेको उसको ४२ अंक छ । बीसौं खेलबाट ४२ सै अंक बटुलेको एस्टन भिल्ला दोस्रो र उन्नाइसौं खेलबाट ४० अंक जोडेको म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा छन् । लिभरपुल मंगलबार राति बीसौं खेल खेल्दैछ ।
