काठमाण्डौं, १४ पुस । हिजो शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा परी ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत  र घाइतेहरूलाई उपचार खर्च दिने भएको छ ।

यो निर्णय आज शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो : हिजोको घटनामा परी निधन भएकाको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र घाइते भएकाहरूको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

सो घटनामा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह मृत्यु भएको थियो ।

मन्त्री शर्माका अनुसार बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानविन गरी कारबाही गर्न र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ ।

शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका तर फेल भएका युवाहरुले पुन: भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसै क्रममा प्रहरीसँगको झडप हुँदा राउत र शाहको मृत्यु भएको थियो ।

सो घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

छानविन नटुंगिएसम्म गोली चलाउन आदेश दिने डिएसपी, मन्त्रीका पीएसओ र उपसचिव लगायतका कर्मचारीलाई सरकारले निलम्बन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर