काठमाडौँ, २२ भदौ । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । दिवसका अवसरमा आज विहान प्रभातफेरी हुँदैछ भने सोही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ ।
यस वर्ष सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसैले पाएका छैनन् । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुहरुमा निर्देशक पदम कुमार श्रेष्ठ, उपसचिवद्वय दीपक प्रसाद खतिवडा र हरि प्रसाद ज्ञवाली, उपसचिव मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश राज पौडेल, उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध रहेका छन् ।
यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा सहसचिव सुरेन्द्र मोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्य नारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायण प्रसाद काफ्ले, उपसचिवत्रय मुन कुमार केसी, ऋषिराम भुसाल र शान्ति बहादुर बस्नेत रहेका छन् ।

