काठमाडौं, २१ भदौ । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ ।

ग्राण्डी अस्पतालमा उपचारका क्रममा रहेका उनको आज विहान निधन भएको   । डेंगु संक्रमणपछि एक साता अघि अस्पताल भर्ना भएका उनको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

रिजाल गत स्थानीय तह निर्वाचनमा चार हजार १९ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत रहेका रिजाल गत वर्ष वैशाखमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका थिए ।

धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । अहिले भने उनको काठमाडौं-१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।

फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो । पछि मेयर शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए । सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।

रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थीव शरिर अहिले विहान ११ बजे राष्ट्रिय सभागृहमा राखेर आजै पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर