बागलुङ, १० भदौ । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा रु तीन करोडभन्दा बढी पशुधनको क्षति भएको छ । यो रोगबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ ।
रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्याङ्क छ भने अन्य क्षति गाईगोरुमा देखिएको हो ।
केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ४० हजार र उन्नत जातको रु एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेका छन्। लगभग एक सय २२ बङ्गुर मरेको तथ्याङ्क ल्याब परीक्षणबाट पुष्टि भएको छ । तर किसानले चार सय बङ्गुर मरेको जनाएका छन् ।
यसरी बङ्गुरहरू भकाभक मर्न थालेपछि बङ्गुरपालक किसानहरु पेसाबाट पलायन हुन थालेका छन् । उनीहरूलाई नोक्सानी र पेसाबाट पलायन हुनबाट बचाउन पशु विज्ञ केन्द्रले सहयोग गर्ने हेतुले चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको छ ।
त्यसैगरी लम्पी स्किन रोगबाट पशुलाई बचाउन जिल्लामा खोप अभियानलाई प्रभावकारी बनाइएको छ । खोप लगाउने पशुको सङ्ख्या बढेपछि रोग नियन्त्रणउन्मुख भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।
जिल्लामा गोरुगाई र भैँसीमा फैलिरहेको लम्पी स्किन रोगबाट बचाउनका लागि निजी र स्थानीय तहले चालेको खोप अभियानमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र बागलुङले समेत थप पाँच हजार खोप वितरण गरेको पशुप्राविधिक केशवप्रसाद शर्माले जानकारी दिनुभयो ।
।
