काठमाण्डौं, १० भदौ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको संलग्नता देखिएकाले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोग मागेको छ ।
यस बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले इन्टरपोललाई सहयोगका लागि पत्राचार गरिसकेको छ।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभयो।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन बरामद गरेको थियो।
त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ।
सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
