विराटनगर, ४ भदौ : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ । बैठकमा उपसभामुखसहित १६ प्रदेशसभा सदस्य अनुपस्थित रहनुभएको थियो ।सभाध्यक्षको जिम्मेवारीमा रहेको ज्येष्ठ सांसद मन्सुरीले  मुख्यमन्त्री थापालाई विश्वासको मत दिए ।

प्रदेश सभामा  प्रस्तावको पक्षमा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले धारणा राख्दै प्रदेशको राजनीतिक स्थिरता र विकासका लागि थापा सरकारलाई समर्थन गरेको बताउनुभयो ।

उता नेकपा (एमाले) संसदीय दलका तर्फबाट रेवतीरमण  भण्डारीले सरकार गैरकानूनी र गैरसंवैधानिक भएकाले  विश्वासको मत नदिने धारणा राख्नुभएको थियो ।

छलफलमा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री थापाले आफूले सहमति गरेर नै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले जनताका आवश्यकतामा विशेष काम गर्ने बताउनुभयो । मुख्यमन्त्री थापाले आफू सदैव सहमति र सहकार्यका पक्षमा रहेको भन्दै विश्वासको मतका पक्षमा मतदान गर्न आह्वान गर्नुभयो ।

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिनुभएको हो । प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ ।–

प्रतिक्रिया

सम्बन्धित खवर