काठमाडौँ, ४ भदौ : कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएको छ ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । संसदीय सुनुवाई समितिको आजको बैठकले प्रधानन्यायाधिशमा उहाँको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा  प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “जतिसक्दो छिटो मुद्दाको फछर्यौट गर्ने योजना नै बनाएर काम गरिरहेका छौँ, एक वर्षदेखि शुक्रबार पनि थप दुई घण्टा निःशुल्क काम गरिरहेका छौ, यो बीचमा मुद्दा फछ्र्यौटको राम्रो छ ।” न्याय सम्पादन सहज, छिटो, छरितो बनाउन आफूहरु लागिपरेको भन्दै आफ्नो कार्यकालमा सक्दो प्रत्यन्त गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।न्यायालयमा विकृति तथा विसङ्गति भित्रन नदिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो १३ महिने कार्यकालमा न्यायालय सुधारका काममा पूर्णरुपमा लाग्ने बताउनुभयो ।

सुनुवाइका क्रममा श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता लगायतका अवाञ्छित गतिविधिको नियन्त्रणसम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, ढिलासुस्ती तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न सुक्ष्म अनुगमनकर्ता खटाई प्रतिवेदन लिने र कारबाही गर्ने प्रणालीको विकास गर्नेलगायतका योजना रहेको उल्लेख गर्नुभयो ।

सन् १९५९ अक्टोबर १६ मा सिलगढी डोटीमा जन्मनु भएका श्रेष्ठले सन् १९८४ देखि सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । जिल्ला, उच्चहुँदै सर्वोच्च अदालतमा न्याय सम्पादनमा सक्रिय रहनुभएका श्रेष्ठ ३१औँ प्रधानन्यायाधीश बन्नुभएको छ । विसं २०१६ असोज २० गते डोटी जिल्लामा जन्मनुभएका श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास भए पनि हाल काठमाडौँ कुलेश्वरमा बस्दै आउनुभएको छ । कानुनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठ २०३८ चैत २७ गतेदेखि न्याय सेवामा प्रवेश गर्नुभएको थियो श्रेष्ठको कार्यकाल १४ महिना बाँकी छ । उहाँ २०८१ साल असोज १९ मा अनिवार्य अवकाशमा जानुहुनेछ ।

श्रेष्ठले सन् २००४ मा गोरखा दक्षिणबाहु तेस्रो र सन् १९९१ मा गोरखा दक्षिणबाहु चौथो प्राप्त गर्नुभएको थियो ।–––

प्रतिक्रिया

सम्बन्धित खवर