काठमाडौं, ३० चैत । चीनका प्रमुख रोग नियन्त्रण अधिकारीले चीनमा निर्मित कोभिड खोपहरूको प्रभावकारिता कम भएको वताउनुभएको छ ।
एक पत्रकार सम्मेलनमा गाउ फूले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरूको सम्मिश्रण बनाउने विषयमा सोचिएको जानकारी दिनुभयो ।
नेपालमा पनि चीनले अनुदानमा दिएको आठ लाख मात्रा कोभिड खोप अहिले लगाउन थालिएको छ ।
चीनले चार प्रकारका खोपहरूलाई स्वीकृति दिएको छ जसमध्ये विदेशमा गरिएको परीक्षणमा केही खोपको प्रभावकारिता ५० प्रतिशतसम्म पनि देखिएको छ ।
पछि गाउले सम्मेलनमा राखेको आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताउनुभएको छ ।
चीनमा १० करोडभन्दा बढी मानिसले स्वदेशमा निर्मित खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।
चिनियाँ सरकारले भने आफ्ना खोपहरू प्रभावकारी भएको र चिनियाँ खोप लगाएका विदेशीलाई मात्रै चीन प्रवेशाज्ञा दिने बताउँदै आएको छ ।
गाउले के भने
चीनका रोग नियन्त्रण केन्द्रका प्रमुख ग्वाओ फुले शनिवार हाल उपलब्ध खोपहरूको सुरक्षा दर उच्च नरहेको बताउनुभएको थियो ।
भिडिओ क्याप्शन सुरु हुँदैछ
चिनियाँ खोपबारे हामीलाई के के थाहा छ
उहाँले प्रभावकारिता वृद्धि गर्नका लागि खोपहरू मिसाउने विषयमा विचार गरिएको सङ्केत गर्नुभयो ।
उहाँले खोपको प्रभावकारिता वृद्धि गर्न मात्राको सङ्ख्या परिवर्तन गर्ने र दुई मात्राबीच समयावधि बढाउने जस्ता चरणहरूको चर्चा गर्नुभएको थियो ।
तर पछि उहाँले सरकारी पत्रिका ग्लोबल टाइम्सलाई संसारभरिका खोपहरूको सुरक्षा दर कुनै बेला कम र कुनै बेला बढी हुने बताउनुभयो ।
तिनीहरूको प्रभावकारिता कसरी बढाउने भन्नेबारे संसारभरिका वैज्ञानिकहरूले सोच्नुपर्छ, उहाँले पत्रिकालाई भन्नुभयो ।
उहाँले चिनियाँ खोपहरूको प्रभावकारिता कम भएको आफ्नो भनाइबारे त्यो पूर्ण रूपमा गलत व्याख्या भएको बताउनुभयो ।
गाउका दुवै भनाइहरूलाई चिनियाँ सञ्चारमाध्यमहरूले खासै स्थान दिएका छैनन् ।
तर सामाजिक सञ्जालमा भने उहाँको पहिलो भनार्इको आलोचना भएको छ ।
केही मानिसले उहाँलाई चुप लाग्न सुझाव दिएका छन्।
चिनियाँ खोपको प्रभावकारिता
अन्तर्राष्ट्रिय रूपमा कम तथ्याङ्क भएका कारण चिनियाँ खोपको प्रभावकारिताको विषय लामो समयदेखि अस्पष्ट छ ।
ब्रजिलमा गरिएको परीक्षणमा चीनको सिनोभ्याकको प्रभावकारिता ५०.४ प्रतिशत देखिएको थियो । त्यो विश्व स्वास्थ्य सङ्गठनले स्वीकृति प्रदान गर्न आवश्यक ५० प्रतिशतभन्दा अलिकतिले मात्र बढी हो ।
टर्की र इन्डोनेशियाका अन्तरिम तथ्याङ्कहरूले भने उक्त खोपको प्रभावकारिता ९१ देखि ६५ प्रतिशत देखाएका छन् ।
पश्चिमा देशहरूमा उत्पादित फाइजर, मोर्डेर्ना र आस्ट्राजेनेका सबै खोपको प्रभावकारिता ९० प्रतिशत वा अझ बढी छ ।
