काठमाडौँ, ३० चैत । कोरोना भाइरस सङ्क्रमणका कारण बुटवल र कैलालीमा गरी चार जनाको मृत्यु भएको  छ ।

बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको आज बिहान मृत्यु भएको हो । चैत २७ गते अस्पताल भर्ना हुनुभएका उहाँमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताउनुभयो

त्यसैगरी  कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उहाँको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले आइतबार राति भर्ना भएका उहाँको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । गएको फागुनमा उहाँ भारतबाट घर फर्किनु भएको जनाइएको छ । सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित चार जनाको उपचारको व्यवस्थापन भइरहेको छ । ‘‘सङ्क्रमितमध्ये दुई जनाको भेन्टिलेटरमा र एक जनाको आइसियुमा उपचार भइरहेको छ,’’ सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘‘फागुन १० गतेयता कोरोनाका कारण हुने मृत्यु दर अस्पतालमा शून्य रहेकामा आज ५० दिनपछि एक जना सङ्क्रमितको मृत्यु भएको हो ।’’

पछिल्ला हप्तामा भारतमा यो रोगको सङ्क्रमण र मृत्यु दर बढेसँगै नेपालमा यो रोग फैलिने जोखिम देखिएको छ । सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोनाको सङ्क्रमण बढेसँगै त्यहाँका शैक्षिक संस्था बन्द गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर