दोलखा, २८ साउन : दोलखाका विभिन्न स्थानमा गरी अविरल वर्षाका कारण पहिरोमा परी यो साता मात्रै तीन जनाको मृत्यु भएको छ । त्यस्तै चार जना अझै बेपत्ता छन् ।
अविरल वर्षापछि आज दिउँसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएका छन् । आज बिहान घरबाट झन्डै एक घन्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ वर्षीय निमदोर्जे शेर्पा र उहाँको छोरा अन्दाजी १२ वर्षीय पासाङ शेर्पालाई वर्षासँगै आएको भेलले बगाउँदा बेपत्ता भएको वडाध्यक्ष दलबहादुर श्रेष्ठले बताउनुभयो ।
आज १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मूलखोलामा पु¥याएकाले बेपत्ता भएको वडा नं श्रेष्ठले जानकारी दिनुभयो ।
शेर्पा बाबुछोरालाई बगाएको खबर पाउनेबित्तिकै गाउँलेले खोजी सुरु गरेको भए पनि अविरल वर्षाकै कारण भेट्न समस्या भएको स्थानीयवासीको भनाइ छ । बेपत्ता बाबुछोराको घरमा अहिले बूढी आमैमात्र रहेको स्थानीयवासीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले शेर्पा बाबुछोरालाई वर्षासँगै आएको भेलले बगाएको खबर प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर खोजी सुरु गरेको बताउनुभयो ।
अविरल वर्षा जारी रहेकाले खोजीकार्य प्रभावित भएको प्रहरीको भनाइ छ । यो सातामा मात्रै अविरल वर्षाका कारण गत मङ्गबार तामाकोशी नदीमा तीतेमाछा टिप्न गएको बिगुगापा–२ ओराङका तिरिस तमाङको माथिबाट झरेको पहिराले ज्यान गएको थियो ।
गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरामा परी सोही स्थानका ५० वर्षीय देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको छ भने टोपाटारकै पहिरामा परि अझै दुुई बेपत्ता छन् । बेपत्ता हुने टोपाटरकै ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिला श्रेष्ठ अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता
बर्दिया, २८ साउन : बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।
बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।
बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो ।
पैनीमा डुबेको अवस्थामा शव फेला
सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शङ्कास्पद अवस्थामा भेटिएको छ ।
भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आज पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।
खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
उहाँले घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उल्लेख गर्नुभयो । प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरेको उल्लेख गरेको छ ।
