काठमाडौँ, २८ साउन : अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स–साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कर्णाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यही साउन ३० गते लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन, चट्यासहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तर–पश्चिम विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेकाले नेपालमा मौसममा बदली भई वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।