गुल्मी, १ साउन । गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ ।
साउन महिनाको पहिलो दिन आज सोमबारे औँसी परेकाले बिहानैदेखि रेसुङ्गामा क्षेत्रमा श्रद्धालुहरुको भिड लागेको हो ।
साउन महिनाभर रेसुङ्गा माहापोखरीमा स्नानगरी पोखरीमाथिको यज्ञशाला मन्दिरमा पूजाआजा गर्न मानिसहरुको भिड लागेको छ ।
यस क्षेत्रमा पुगेपछि चारधाम जान नपर्ने र आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट हुने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका आधारमा विगत केही वर्षदेखि यहाँ आउने धार्मिक पर्यटकहरुको सङ्ख्या वृद्धि हुँदै आएको छ ।
त्रेता युगदेखि यस क्षेत्रको महत्व हालसम्म पनि कायम रहेकाले यस क्षेत्रमा एक पटक पुगेपनि मनोकामना पूराहुने भएकाले यसको महत्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिनुभयो ।
सो क्षेत्रमा गुल्मी पाल्पा, बाग्लुङ्ग, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लावाट आउने श्रद्धालुहरुको वर्षेनी घुईचो लाग्ने गर्दछ ।
साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहु होमसहित, रुद्री, गिता र चण्डी पाठ गर्नाका साथै श्रद्धालुहरु रातभर भजन किर्तनमा रमाउने गर्दछन् ।

जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटरको दूरीमा रहेको उक्त ठाउँमा पुग्न सडक पक्की गरिएकाले झनै सहज बनेको छ । एक महिने धार्मिक मेलाले रेसुङ्गा क्षेत्र आन्तरिक एवं वाह्य धार्मिक पर्यटकका लागि थप गन्तव्य स्थल बन्ने भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर