वीरगन्ज, २९ असार ।  भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको हो ।

जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो ।

निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गर्नुभएको थियो ।

“ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौँ”, महाप्रबन्धक झाले भन्नुभयो ।

हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उहाँले बताउनुभयो । कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । “जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ”, नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भन्नुभयो, “कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् ।” यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।”

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो ।

विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ ।  जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवासँगै कार्गाे रेल सेवा सञ्चालन गर्ने तयारी भैरहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर