जनकपुरधाम, २६ असार । नेपाल विद्यापति मैथिली पुरस्कार, २०७९ अन्तर्गत भाषा साहित्य विधातर्फको पुरस्कार साहित्यकार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ ।

विद्यापति पुरस्कार कोष जनकपुरधामद्वारा मङ्गलबार जनकपुरधाममा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट स्थापित विभिन्न चार विधातर्फका पुरस्कार चौधरीलगायत पाँच जना स्रष्टालाई अर्पण गर्नुभयो ।

रु दुई लाख नगद राशि रहेको विद्यापति मैथिली भाषा साहित्य पुरस्कार धनुषाको विदेह नगरपालिका–२ का चौधरी, अनुवादतर्फ रु एक लाख राशिको पुरस्कार धनुषाको सहिदनगर नगरपालिका–२ निवासी उपप्राध्यापक रमेशकुमार यादव, पाण्डुलिपितर्फ महोत्तरीको लोहारपट्टी घर भई हाल जनकपुर निवासी साहित्यकार महेन्द्रकुमार मिश्र तथा रु ५०÷५० हजार राशिको कला–संस्कृतितर्फको पुरस्कार जनकपुरधाम–१० निवासी आभाष लाभ र जनकपुरधाम–१४ निवासी वैद्यनाथ पटेललाई प्रदान गरिएको छ ।

पुरस्कार अर्पण गर्नुहुँदै मन्त्री किरातीले मैथिली भाषाका महाकवि विद्यापतिले मधेस र पहाडीबीच भावनात्मक एकता कायम गर्न खेलेको भूमिका अवर्णनीय रहेको बताउनुभयो । “करिब छ सय वर्षअगाडि तत्कालीन मिथिलाञ्चलमा जन्मनुभएका महाकवि विद्यापतिले नेपाल र भारतलाई मात्र नभई मधेस र पहाडलाई पनि भावनात्मक एकतामा बाँध्ने काम गर्नुभयो ।  कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादवले विद्यापतिले मैथिली भाषा साहित्यको विकासमा खेलेको भूमिकालाई सुरक्षित राख्न आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी विद्यापति पुरस्कार कोषका अध्यक्ष रामबाबु चौधरीले मैथिली भाषा साहित्य, मैथिली अनुवाद, अनुसन्धान र कला संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सङ्घ संस्था र व्यक्तिलाई विसं २०६८ देखि नै कोषले पुरस्कृत गर्दै आएको बताउनुभयो ।

यस कार्यबाट मैथिली भाषा बोल्ने नेपालका २८ लाखभन्दा बढी र अन्य क्षेत्रमा गरी सात करोड मानिस उत्प्रेरित गर्नुका साथै मैथिली भाषा साहित्य, कला संस्कृति र भाषिक पुरातात्विक अध्ययन अनुसन्धान गर्न सघाउ पुगेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर