काठमाडौँ, २६ असार। सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो ।
“मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उहाँले भन्नुभयो ।
सोलुको दुधकुण्ड नगरपालिका–२ स्थित लमजुरा डाँडामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर खोज्न काठमाडौँबाट हेलिकप्टर परिचालन गरिएको छ । ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले बताउनुभयो ।
