कास्की, २३ असार । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार बल्ल पाएका छन् ।
नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार खेलाडीले १६ महिनापछि हिजो शुक्रबार प्राप्त गरेका हुन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले एक जना खेलाडीलाई सो पुरस्कार दिनुभयो ।
अन्यको हकमा पुरस्कारको रकम उनीहरूको बैक खातामा पठाइएको छ ।
मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताउनुभयो कि पुरस्कारबापतको रकम अन्य पुरस्कृत खेलाडीको व्यक्तिगत बैंक खातामा पठाइसकिएको छ ।
च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद रु ५० हजारका दरले पुरस्कार रकम प्राप्त गर्नुभएको छ । गण्डकीको च्याम्पियन टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार र अरबिना अधिकारी रहनुभएको थियो ।
यसैगरी अन्य खेलाडीमा निरु जिटी, सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रिती पराजुली तथा टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यवस्थापन एलिशा लामिछाने हुनुहुन्थ्यो ।
यसअघि सरकारले विजेता खेलाडीलाई भोलिपल्ट अर्थ मन्त्रालयमा सम्मान गर्दै नगद पुरस्कारको घोषणा गरेको थियो तर खेलाडीले घोषित पुरस्कार लामो समयसम्म प्राप्त गर्न सकेका थिएनन् । रासस
