गोरखा, २३ असार । गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने बुटार मोटरेवल पुल ठेक्का लगाएको नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन ।

कूल रु १७ करोड ४६ लाखमा पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रकसनले पुल निर्माणको काम अलपत्र पारेर छोडेको हो । अहिलेसम्म पुल निर्माणको करिब ११ प्रतिशत मात्र भौतिक प्रगतिको काम भएको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका सूचना अधिकारी आस्था देवकोटाले जानकारी दिनुभयो ।

ठेकेदार कम्पनीले पुलको दुवैतर्फ पिल्लर मात्रै उठाएर मात्र लामो समयदेखि छाडेको छ । आयोजना कार्यालयले काम छिटो गर्न पटक–पटक भनेपनि ठेकेदार कम्पनीले अटेरी गरेपछि पुल निर्माणको रोकिएको हो ।

निर्माण सुरु भएको लामो समयसम्म पनि काम अघि नबढेपछि आयोजना कार्यालयले कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का सम्झौताका लागि प्रक्रिया अघि बढाएको छ ।

“कम्पनीले काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का लगाउन बोलपत्र निकालिएको छ ”, देवकोटाले भन्नुभयो, “अब नयाँ ठेक्का सम्झौता गरेर रोकिएको पुल निर्माणको काम अघि बढाउने तयारी भइरहेको छ ।”

पप्पु कन्ट्रक्सन कम्पनीसँग २०७४ पुस २९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्ने  गरी २०७१ सालमा सम्झौता भएको थियो ।

पुरानो ठेक्का रद्द गरेपछि आयोजना कार्यालयले रु ३१ करोड ६३ लाख ९७ हजार ७ सय अनुमानित लागतमा पुल निर्माणको नयाँ ठेक्का सम्झौता गर्नका लागि बोलपत्र आह्वान गरेको छ ।

उक्त पुल एकसय ५१ मिटर लम्बाइको हुनेछ । पुल निर्माण नहुँदा गोरखाको गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिकाका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आउनुपरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर