काठमाण्डौ, २३ असार । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा दुईवटा ट्रक एक अर्कोमा ठोक्किएर दुर्घटना हुँदा त्यहाँ तीन जनाको मृत्यु भएको छ ।

दुर्घटना गए राति २ बजेतिर भएको हो ।

दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठोक्किएको र त्यसपछि दुवै ट्रकमा आगो लागेको थियो ।

दुर्घटनाग्रस्त दुबै ट्रक आगोले पूरै जलेको अवस्थामा छन् ।

दुर्घटनामा परेर मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति ननगरपालिका-८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको रहेको प्रहरीले जनाएको छ ।

ट्रकमा लागेको आगो निभाउन हेटौंडाबाट दुई वटा दमकल त्यहाँ गएका थिए ।

प्रहरीका अनुसार सो दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ना६ख ६६६७ नको ट्रकमा सवार जिल्ला चितवन राप्ति नपा ३ बस्ने वर्ष ३५ को विवेक तमाङ र ना६ख ६३१ नंको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गापा ३ बस्ने वर्ष ३२ को अर्जुनकुमार प्रजा छन्।

चितवनको भरतपुर अस्पतालमा घाइतेहरूको उपचार भैरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर