विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।
नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल बनाए पनि माओवादीले केन्द्रले भने मन्त्रीमा कसलाई पठाउने भन्ने नाम टुङ्गो लगाउन सकेन ।
कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका छन् ।
