म्याग्दी, २२ असार । म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार निर्माणतर्फ ९२ प्रतिशत योजना सम्पन्न गरेको छ ।
आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा सो गाउँपालिकाले उपभोक्ता समितिमार्फत कार्यान्वयन भएका अधिकांश योजना सम्पन्न गरी तिनको भुक्तानीसमेत गरिसकेको छ ।
धवलागिरिले ७० दशमलव ५४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका एक सय ४५ योजनामध्ये हिजो बिहीबारसम्म एक सय ३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिनुभयो ।
“एक सय ३३ वटा उपभोक्ता समिति र एउटा ठेक्कामार्फत सञ्चालित योजना सकिएको छ”, उहाँले भन्नुभयो, “ठेक्कामार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नापजाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौँ ।”
लेखा शाखाका प्रमुख तिलक पौडेलले कूल रु ४७ करोड ४१ लाख बजेट विनियोजन भएकामा बिहीबारसम्म रु ३३ करोड ४४ लाख खर्च भइसकेको बताउनुभयो । “बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ”, उहाँले भन्नुभयो, “बाँकी र प्रक्रियामा रहेका फाइलको भुक्तानी हँदासम्म वित्तीय प्रगति ८० प्रतिशत नाघ्ने अनुमान गरेका छौँ ।”
यो पालिकामा पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, खानेपानी, सडक स्तरोन्नतिलगायतका आयोजना सञ्चालन भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले दरबन्दीको एक तिहाइमात्र कर्मचारी, भौगोलिक विकटताका बाबजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रियताका कारण योजना कार्यान्वयनमा सहज भएको बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सीमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयमै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृत्ति हटाउने प्रयास गरेको बताउनुभयो ।रासस
