विराटनगर, २१ असार। कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।
नवनियुक्त मुख्यमन्त्री थापाको जीवनी
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गर्नुभएका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित हुनुभएको हो ।
विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहनुभएको थियो ।
अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मनुभएका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उहाँले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव÷सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हाल्नुभयो । त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभयो । हरेक चुनावमा नेपाली कांगे्रसको भारी मत बढाउन सफल रहे पनि जितको परिणाम भने हात पर्न सकेन ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गर्नुभएको छ ।
प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा सङ्घर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गर्नुभएका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आउनुभएको छ ।
नेपाली कांग्रेसभित्र सबै जाति, भाषाभाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्नुहुने थापा नेविसङ्घ एकाइ हँुदै कांग्रेस पार्टीको तल्लो एकाइ समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीका रूपमा चर्चित हुनुहुन्छ ।
कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएपछि उहाँ प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत हुनुभएको थियो ।
–
