झापा, १६ असार । यस जिल्लाको कचनकवल गाउँपालिका कर्मचारीले किसानलाई दिने माछाका भुरामा ठगी गरेको पाइएको छ । उनीहरूले प्याकेटका आधा भुरा आफूले राखेर किसानहरूलाई आधा मात्र दिएर ठगेका हुन्।

त्यहाँका माछापालक किसानहरूका अनुसार नगरपालिकाले अनुदानमा उपलब्ध गराएको माछाका भुरा एक प्याकेटमा १ हजार हुनुपर्नेमा पाँचसय मात्र भएको बताइएको छ ।

यसबारे यथार्थ बुझी ठगी गर्ने कर्मचारीलाई  कारबाही गर्न माग गर्दै  माछापालक किसानले पालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीसमक्ष उजुरी दिएका छन् ।उजुरीमा माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको भुरा भनेर पाँच सय मात्र दिएर ठगेको उल्लेख छ ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा त्यहाँका माछापालक किसानलाई भुरा वितरण गरेको थियो ।

माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीविरुद्ध उजुरी दिएका हुन् ।

उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा रू तीन पर्ने भनिएको माछाको भुराका लागि रू डेढ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो ।

सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो ।

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो ।

यसबारे पालिका अध्यक्ष राजवंशीले भन्नुभयो, “कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौं ।”

उहाँले घटनाको यथार्थ के हो बुझेर चाँडै सार्वजनिक गर्ने बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर