दमौली, १६ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि त्यस पालिकाको एक छात्रलाई छात्रवृत्तिस्वरुप रु ११ लाख ६६ हजार सहयोग गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ निवासी दीपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ताबापत रु ११ लाख ६६ हजार छात्रवृत्तिस्वरुप  सहयोग गरेको हो ।

उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हिजो शुक्रबार छात्र दवाडीलाई हस्तान्तरण गर्नुभयो ।

गाउँपालिकाले विद्यार्थी दवाडीलाई पूरा अध्ययनको लागि कुल रु ३५ लाख प्रदान गर्नेछ ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएबमोजिम ती विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो ।

चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीसँग छात्रवृत्ति करार सम्झौता गरी छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको सो गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अध्ययनपश्चात् अनिवार्यरुपमा दुई वर्ष आँबुखैरेनी अस्पतालमा सेवा गर्नुपर्ने शर्त राखिएको छ ।”

गाउँपालिकाले गत मङ्सिरदेखि आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ ।

छात्रवृत्तिका लागि गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी सूचना आह्वान गरेकामा छनोट समितिको सिफारिसबमोजिम दवाडीलाई पहिलो किस्ताबापतको रकम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । छात्रवृत्ति प्राप्त गर्ने दवाडीले यो रकमले आफ्नो अध्ययनमा ठूलो टेवा मिलेको बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर