काठमाण्डौं,५ असार । आइसिसी एक दिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपाललाई अमेरिकाले क्षतिमा ४९ ओभरमै सबै १० वकेट गुमाएर २०८ रनको लक्ष्य दिएको थियो ।
जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको त्यो लक्ष्य नेपालले ४ विकेटको क्षतिमा सात ओभर बाँकी छँदै पूरा गरेर प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
गत ३ गते भएको खेलमा नेपाल जिम्बावेसत हारेको थियो ।
आजको यो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ ।
नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रन बनाएका हुन । त्यस्तै दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।
त्यस्तै ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए । कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।
बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो ।
अमेरिकाका लागि शायन जाहान्गिरले सर्वाधिक एक सय रनको योगदान दिए । उनले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित एक सय रनको योगदान दिएका हुन् । सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् ।
त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएका हुन् । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । तेस्तै गुलशन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी २ विकेट तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।
यो प्रतियोगितामा दुई खेल खेलको नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो तेस्रो खेल यही असार ७ गते वेस्टइन्डिजसँग खेल्नेछ ।
