पाँचथर ४ असार । पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका पीडित १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।

प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार ती १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन् । पीडितहरू रातिदेखि नै उद्धारको पर्खाइमा थिए ।

हेलिकोप्टरमा उद्धार गरिएकाहरुमा ६० वर्षीया नरमाया गुरूङ, १६ वर्षीय सन्दीप गुरूङ, नौ वर्षीया हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मनकुमारी गुरूङ, १६ वर्षीया सुष्मा गुरूङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन् ।

उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिनुभयो ।

त्यसैगरी ताप्लेजुङको पहिरोमा परी गम्भीर घाइते भएका सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङका राजकुमार राईलाई हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरी निजलाई उपचारार्थ विराटनगर लगिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका ताप्लेजुङका अनुसार सेनाको हेलिकाेप्टर उद्धारका लागि यहाँ पुगे पनि भारी वर्षा र मौसमका कारण निलगिरि माविको खेलमैदानमा डेढघण्टा रोकिएको थियो । मौसममा केही सुधार आएसँगै हेलिकाेप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

पहिरोले बगाएका राजकुमारलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए । राजकुमारसँगै पहिरोमा परेका  सुरेश राई उनका पिता  केशरकुमार राईको निधन भैसकेको छ ।

प्रहरी नायब उपरीक्षक लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, उहाँकी बुहारी ३० वर्षीया सन्ध्या बुढा क्षेत्री र नाति नौ वर्षीय प्रज्वल बुढा क्षेत्री अझै बेपत्ता छन् । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी छ। रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर