फुङ्लिङ, ४ असार । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् ।
आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता हुनुभएको हो ।
त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भिर घाइते हुनुभएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
वर्षाको क्रम निरन्तर रहेकाले बेपत्ता हुनेको खोजी कार्यमा समस्या भएको मेहेलेका स्थानीय कमल कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिरोमा गम्भिर घाइते हुनुभएका राजकुमार राईलाई उपचारमा लैजानका लागिसमेत समस्या भइरहेको छ ।
बाढीले याक्सा (गोठ) बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन् । बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन हुनुभएको हो ।
उनिहरू गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए । बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । बसेको ओढारको तीनतिर खोला छन् ।
कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्षतामाङले जानकारी दिनएको छ । उहाँले भन्नुभयो, “बाढीसँगै आएको खोला घटेको छैन । खोला तरेर जाने सम्भव छैन । पानी केही छिनमा रोकिने र केही छिनमै पर्ने क्रम चलिरहेको छ ।”
स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताउनुभयो । उद्धारका लागि आइतबारै नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन ।
आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिनुभएको छ । रासस
