दाङ, २७ जेठ  ।  नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह बाह्र वर्षपछि बल्ल हुन लागेको छ ।

यसअघि विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो ।प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह त्यसपछि हुन सकेको थिएन ।

यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो । “विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।”

यो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमा जेठ ३१ गते हुनेछ । यो कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ ।

यो पाँचौँ दीक्षान्त समारोह हो । यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको हो । विसं २०५७ पछि २०६८ मा मात्रै दीक्षान्त समारोह भएको थियो ।

यसपटक विसं २०७७ सम्म १० वटा शैक्षिक सत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र विएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर